समाजमा श्रीमानबाट श्रीमती पीडित भएका गुनासो बढिरहेका बेला पछिल्लो समय पाल्पामा ‘श्रीमतीपीडित’ पुरुषहरु पनि सम्बन्धित निकायमा पुग्न थालेका छन् ।
‘श्रीमतीबाट पीडित हुँ’ भन्दै पुरुषहरू सम्बन्ध–विच्छेदका मुद्दा दर्ता गराउन अदालत जाने गरेका छन् । विविध कारण देखाउँदै पुरुष स्वयं ‘न्यायका लागि’ जिल्ला अदालतमा धाउन थालेका हुन् ।
विशेषगरी वैदेशिक रोजगारमा रहेका श्रीमानहरू ‘श्रीमतीपीडित’ भइयो भन्दै ‘न्याय’ र ‘उन्मुक्ति’ को बाटो खोज्दै अदालतमा पुगेका छन् । आफू वैदेशिक रोजगारीका क्रममा रहँदा श्रीमतीले परपुरुषसँग सम्बन्ध स्थापित गर्नु, वैदेशिक रोजगारीमा कमाएको धन हिनामिना गर्नुजस्ता कारण देखाउँदै पुरुषहरूले सम्बन्ध–विच्छेदको मुद्दा दर्ता गराएको पाइन्छ ।
चालु आर्थिक वर्षको ६ महिनामा जिल्लामा सम्बन्ध–विच्छेदका १ सय २२ मुद्दा दर्ता भएकामध्ये ८७ महिला र ३५ पुरुषले सम्बन्ध–विच्छेदको मुद्दा दर्ता गराएका छन् । हुन त यो तथ्याङ्कले पुरुषको तुलनामा महिलाको सङ्ख्या दोब्बर बढी देखिन्छ । तर, जिल्लामा हिजोको र अहिलेको अवस्थालाई हेर्दा सम्बन्ध–विच्छेदका लागि पुरुषको सङ्ख्या निकै नै बढेको पुष्टि हुन्छ ।
नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्ध–विच्छेदका मुद्दा लिएर पुरुषहरू जिल्ला अदालत धाउन थालेका हुन् । भदौ १ देखि नयाँ मुलुकी संहिता (ऐन) प्रचलनमा आएपछि पुरुषले पनि अदालतमा सम्बन्ध–विच्छेदका लागि मुद्दा दर्ता गराउन पाइने व्यवस्था छ । यी पुरुषहरुले सोही अनुसार सम्बन्ध–विच्छेदको मुद्दा दर्ता गराउने गरेका छन् ।
पुस मसान्तसम्म दर्ता भएका १ सय २२ मुद्दामध्ये ५९ मुद्दाको फरछ््यौट भएको जानकारी जिल्ला अदालत पाल्पाका तहसीलदार भेषराज खनालले दिए । दर्ता भएका मुद्दामध्ये ६३ वटा फछ्र्यौट हुन बाँकी छन् । गतवर्ष जिल्लामा सम्बन्ध–विच्छेदका १ सय ३३ मुद्दा दर्ता भएका थिए । महिलाहरु मानसिक यातना, घरेलु हिंसा, अपहेलनाजस्ता समस्या लिएर मुद्दा दर्ता गराउन पुग्ने गरेको कार्यालयले जनाएको खबर राससले प्रेषित गरेको छ ।