भारतमा आयोजनामा हुने आतङ्कवाद नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
फागुन १ र २ मा सञ्चालन हुने १९औं ‘सिनर्जिस्ट नेसनल रेस्पोन्स टु इमजजिङ एन्ड टेरोरिष्ट थ्रेट’ का विषयमा हुने सेमिनारमा सहभागी हुन महानिरीक्षक खनाल भारत प्रस्थान गरेका हुन् । उनीसँगै राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी समेत त्यसतर्फ गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उक्त कार्यक्रममा विभिन्न देशका प्रहरी प्रमुख तथा विशिष्ट प्रहरी अधिकृतसँग अन्तरक्रिया हुने भएकाले अन्तर्राष्ट्रियस्तरमा सुरक्षासम्बन्धी सम्बन्ध विस्तार हुने र नेपालको आन्तरिक सुरक्षाका संवेदनशीलताका विषयमा विश्लेषण गर्न सहयोग पुग्ने विश्वास लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात, प्रहरी नायब महानिरीक्षकलगायतका वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीलाई प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी दिइएको खबर राससले प्रेषित गरेको छ ।