newskoseli.Com

विप्लवको पार्टीद्वारा फागुन ८ मा लुम्बिनी बन्दको आह्वान

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्टले फागुन ८ मा लुम्बिनी बन्दको आह्वान गरेको छ ।

सो पार्टीको लुम्बिनी ब्युरोले सो दिन लुम्बिनीका ७ जिल्लाभर यातायात, बजार, कलकारखाना, उद्योग–व्यवसाय र शिक्षण संस्था बन्दको आह्वान गरेको छ । आफ्नो पार्टीका नेताहरुलाई विनाकारण हिरासतमा राखेर नियोजित रुपमा झुट्टा मुद्दामा फसाउने षड्यन्त्र गरिएको भन्दै नेकपाले रुपन्देही, कपिलवस्तु, नवलपरासी, नवलपुर, गुल्मी, पाल्पा र अर्घाखाँची जिल्ला बन्दको आह्वान गरेको हो ।

नेकपाको सांगठनिक अभियानको सिलसिलामा माघ २३ मा अर्घाखाँचीबाट नेकपाका लुम्बिनी ब्युरो सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खिमबहादुर खड्का, अर्घाखाँची जिल्लाका पार्टी सचिवालय सदस्य पिताम्बर पोखरेल र अभियानयात्री टुकलाल पुनलाई अर्घाखाँची प्रहरीले गिरफ्तार गरेको थियो । उनीहरुलाई हाल सार्वजनिक मुद्दा दर्ता गरी सन्धिखर्कस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

सो पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज वीरजंगद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘गृह प्रशासनको उक्त हर्कतविरुद्ध हाम्रो पार्टीले गिरफ्तार कमरेडहरुको तत्काल ससम्मान रिहाइको माग गर्दै घोर निन्दा र भर्त्सना गरेको थियो । तर, अहिलेसम्म पनि झुट्टा मुद्दा दर्ता गराई कमरेडहरुलाई नियोजित ढंगले फसाउने षड्यन्त्र गरिएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । गिरफ्तार कमरेडहरुलाई अहिलेसम्म पनि रिहा नगरिएकाले फागुन ८ गते लुम्बिनी ब्युरो अन्तर्गतका सबै जिल्ला बन्दको घोषणा गरिएको छ ।’

उनीहरुलाई ८ गतेसम्म पनि नछाडिए थप कडा संघर्षमा जाने चेतावनी समेत सोही विज्ञप्तिमा दिइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर