newskoseli.Com

महानगरका ६८ परिवारको नदीबाटै जीविकोपार्जन !

स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन गरिरहेको भरतपुर महानगरपालिकामा बसोबास गर्ने ६८ परिवार नदीको भरमा जीवीकोपार्जन गर्दै आएका छन् । यहाँका नारायणी र राप्ती नदीमा माछा मारेर उनीहरुले जीवीकोपार्जन गर्दै आएका हुन् ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने ती नदीमा माछा मार्नका लागि निकुञ्जसँग अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार पछिल्ला वर्षमा नयाँ अनुमति नदिइएको भए पनि पुरानाको नवीकरण भइरहेको छ । तीमध्ये भरतपुर महानगरपालिकाका मात्रै ६८ जना रहेका छन् ।

यसरी माछा मारेरै जीविका चलाउनेमा खैरहनी नगरपालिकाका ८ जना, रत्ननगर नगरपालिकाका ४ जना र माडी नगरपालिकाका पनि १ जना रहेका छन् । निकुञ्ज हुँदै बग्ने नदीमा माछा मार्नका लागि अन्य जिल्लामा घर भएका करिव ३ सय जनाले समेत अनुमति लिएको उनले बताए ।

हातेजाल प्रयोग गरी माछा मार्नका लागि अनुमति लिने अधिकांश बोटे समुदायका छन् । उनीहरुको परम्परागत पेशा नै माछा मार्ने हो । अनुमतिपत्र लिनेहरुले महाजाल र विष प्रयोग गर्न पाउँदैनन् । यद्यपि लुकीछिपी महाजाल प्रयोग भइरहेको छ । यस आर्थिक वर्षमा महाजालमा परेर तीन वटा गोही राप्ती नदीमा मरेका छन् । गत वर्ष नारायणी नदीमा एउटा भाले गोही महाजालमा परेर मरेको थियो ।

नदीमा जाल प्रयोग गरेर माछा मार्नेहरुले राम्रो आम्दानी गर्न सकेको पाइँदैन । यद्यपि यसबाट जलचरमा प्रभाव परेको संरक्षणकर्मीहरुले बताउँदै आएका छन् । नदीमा आश्रितलाई वैकल्पिक रोजगारीको व्यवस्था गरेर नदीप्रतिको निर्भरता घटाउनेतर्फ लाग्नुपर्ने भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बताइन् । यही पेशाबाट जीवनस्तर उकास्न सम्भव नहुने भएकाले राज्यले वैकल्पिक व्यवस्था गर्नुपर्ने दाहाल बताउँछिन् ।

विश्वबाटै लोप हुँदै गएको घडियाल गोहीको मुख्य बासस्थान नारायणी र राप्ती नदी हो । घडियाल गोहीले माछा मात्रै खाने गर्दछ । मानिसले माछा मार्दा घडियालको आहारा कम हुने हुँदा गोही संरक्षणमा समस्या पर्दै आएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर