
मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीच रहँदै आएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेस्टर नेपालको चारदिने भ्रमणमा बुधबार राजधानी आउँदैछन् ।
उनले यहाँ रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्रीबीच समेत भेटवार्ता हुने कार्यक्रम रहेको काठमाडौंस्थित बेलायती राजदूतवासले जनाएको खबर राससले प्रेषित गरेको छ ।