newskoseli.Com

भारतबाट झिकाइएका शिकारीद्वारा नेपालमा ‘बाँदर समाउ अभियान’ !

Rhesus Monkey

भारतबाट झिकाइएका शिकारीद्वारा नेपालमा बाँदर समात्न थालिएको छ ।

केही वर्षयता किसानले लगाएका अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि बाँदरलाई समातेर नजिकको राष्ट्रिय निकुञ्जमा पुर्याउन खोटाङमा ‘बाँदर समाउ अभियान’ थालिएको हो । बाँदर समात्न माघ २१ मा दिक्तेल आइपुगेका दुई भारतीय शिकारीले फागुन ३ मा आफ्ना थप तीन सदस्य ल्याएर बाँदर समात्न थालेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।

भारतको उत्तर प्रदेशबाट झिकाइएका शिकारीले मङ्गलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ५, लफ्याङको लुछिममा २५ बाँदर समातेका छन् । बाँदर समात्न दुई स्थानमा चारो राखेर जाल थापिएको थियो । त्यसमा परेका बाँदरलाई फलामे खोरमा थुनेर राखिएको जानकारी वडा नं. ५ का वडाध्यक्ष निर्मल राईले दिए ।

सोही वडाको खर्का भन्ने ठाउँका दुई स्थानमा पनि बाँदरलाई जाल थाप्ने तयारी भइरहेको जनाइएको छ । नगरपालिकाभित्रका १५ वडाका किसानलाई दुःख दिइरहेका बाँदर समातेर निकुञ्ज पुर्याउन नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन समेत गरेको छ । खेतबारीका मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली बाँदरले नष्ट गरेर हैरान पारेपछि तिनलाई समात्न नगरपालिकाकै आर्थिक सहयोगमा भारतीय शिकारी खोटाङ झिकाइएको हो ।

एउटा बाँदर समाते वापत शिकारीलाई २ हजार पारिश्रमिक दिने व्यवस्था गरिएको छ । जेठ मसान्तभित्रमा २ सय ५० वटा बाँदर समात्ने गरी नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीच सम्झौता भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर