
एक इमानदार चालकको इमानदारीका कारण ट्याक्सीमा छुटेका बहुमूल्य सामग्री सम्बन्धित धनीले फिर्ता पाएका छन् ।
बिहीबार बिहान ५ बजे काठमाडौंको अनामनगरदेखि नैकापसम्म जाँदा बा २ ज २२७९ नम्बरको ट्याक्सीमा छुटेको गुल्मीकी वसन्ता भुसालको गरगहनासहितको सामान सुनसरीका ट्याक्सीचालक सिमल राईले फिर्ता गरेका हुन् । ट्याक्सीमा छोडिएको ठूलो मङ्गलसूत्र एक थान, सानो मङ्गलसूत्र एक थान, चन्द्रमा एक थान, तिलहरी एक थान, घाँटीको हार एक थान, पिँजडा टप एक जोडी, बेरुवा रिङ एक जोडी, औंठी तीन थान, लेडिज पर्स एक थान र ६ हजार १ सय २३ रूपैयाँ नगद चालक राईले फेला पारेका थिए ।
आफूले फेला पारेको उक्त गरगहना र नगद चालक राईले महानगरीय ट्राफिक प्रहरी महाशाखामा बुझाइदिएपछि प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टले सम्बन्धित धनीकी बहिनी सोनिया भुसाललाई जिम्मा लगाएको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाभित्रका ट्याक्सीमा हराएका सामग्री प्रायः फेला नपर्ने गरेकामा राईले उदाहरणीय काम गरेको प्रनाउ भट्टले बताए ।