newskoseli.Com

योगेश भट्टराईको चुनौती : स्थायी कमिटीले बनाएको कार्यदल सचिवालयले भंग गर्न सक्दैन !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं चर्चित युवानेता योगेश भट्टराईले पार्टीको केन्द्रीय सचिवालय र त्यसले शुक्रबार गरेको एकता कार्यदल विघटनसम्बन्धी निर्णयलाई चुनौती दिएका छन् ।

पार्टीको संगठनात्मक एकताको खाका बनाउन गठित नौ सदस्यीय कार्यदल विघटन गर्नेगरी सचिवालय बैठकले शुक्रबार गरेको निर्णयपछि कार्यदलका अधिकांश सदस्यले आपत्ति जनाएका छन् । सो निर्णयसँगै कार्यदलका सदस्य योगेश भट्टराईले स्थायी समितिको निर्णयवमोजिम गठित कार्यदललाई सचिवालयले भंग गर्न नमिल्ने भन्दै आपत्ति जनाएका छन् ।

‘कार्यदल सचिवालयले होइन, स्थायी समितिले गठन गरेको हो,’ नेता भट्टराईले भने– ‘त्यसकारण कार्यदललाई सचिवालयको बैठकले भङ्ग गर्न मिल्दैन ।’ कार्यदलको बैठक नै बस्न नसकेका कारण पार्टी एकतामा देखिएका समस्याका बारेमा छलफल गर्न समस्या भएको नेता भट्टराईले बताए ।

बिहीबार बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ सहित सबै सदस्यले कार्यदलको म्याद एक साता थप गर्न माग गरेका थिए । तर, अध्यक्ष केपी ओली र नेता ईश्वर पोखरेल कार्यदलको म्याद थप नगर्ने पक्षमा देखिएका थिए ।

सचिवालयमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरु कार्यदललाई एक साताको थप समय दिनुपर्ने पक्षमा थिए । तर, उनीहरुको यस्तो मतका बाबजुद पुस १२ मा स्थायी कमिटीले गठन गरेको कार्यदल शुक्रबारको सचिवालय बैठकले भंग गरिदिएको छ । अब एकताका बाँकी कामको गृहकार्य सचिवालयले नै गरी स्थायी कमिटीबाट अनुमोदन गराइने बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर