सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ ।
पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सङ्गठनले सो अभियान सञ्चालन गर्न लागेको हो । नेपालमा दैनिक ७–८ जना मानिसले सडक दुर्घटनाबाट अकालमा ज्यान गुमाउनु परेको घटनालाई मध्यनजर गर्दै उक्त अभियान सञ्चालन गर्न लागेको सङ्गठनका अध्यक्ष भीमज्वाला राई बताउँछन् ।
‘सातै प्रदेशमा रहेका सवारी साधनमा कार्यरत सवारी चालक र सहचालकलाई सडक अनुशासन र ट्राफिक नियमबारे जानकारी दिन्छौं, जसले गर्दा दुर्घटनामा कमी आओस्’– उनले भने । ‘सवारी दुर्घटना न्यूनीकरण सम्भव छ’ भन्ने नारासहित देशभर रहेका मजदुर सङ्गठनमध्ये प्रत्येक महिना एक पटक न्यूनतम २० जना चालक तथा सहचालकलाई जम्मा गरेर ट्राफिक प्रहरीमार्फत सङ्गठनले प्रशिक्षण गराउने भएको छ ।
अभियानअन्तर्गत ‘म जिम्मेवार यातायात मजदुर’ भन्ने स्टिकर निर्माण गरी सङ्गठनले सबै सार्वजनिक यातायातमा टाँस्ने भएको छ । स्टिकरमा मादक पदार्थ सेवन गरी सवारी चलाउँदिनँ, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्दिनँ, महिला, बालबालिका तथा अशक्तलाई सम्मान गर्छु, बालश्रम प्रयोग गर्दिनँ, तीव्र गतिमा सवारी चलाउँदिन, तोकिएकोभन्दा बढी भाडा लिन्नँ, सधैं ट्राफिक नियमको पालना गर्छु लगायतका वाक्यहरू प्रयोग गरिएका छन् ।
यातायात मजदुरलाई हुने रक्तचाप, मधुमेह, आँखा, मुटु, मिर्गौलाजस्ता रोगको परीक्षणका लागि शिविर राखी सङ्गठनले निःशुल्क स्वास्थ्य परीक्षण समेत गर्ने भएको छ । सडक दुर्घटनाबाट वार्षिक २ हजार ५ सयदेखि ३ हजारसम्म मानिस मर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्त बताउँछन् । ‘सडकमा हुने दुर्घटना रोक्न प्रशिक्षण फलदायी हुनेछ’– उनले भने । सबै चालक तथा सहचालक जिम्मेवार भए सवारी दुर्घटनामा ठूलो कमी आउने उनको भनाइ छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल मुलुकभर ३२ लाख तथा काठमाडौं उपत्यकामा ९ लाख सवारी साधन सञ्चालनमा रहेका छन् ।
६४ प्रहरी निरीक्षकलाई बढुवा सिफारिस
प्रहरी प्रधान कार्यालयले ६४ प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको छ । शनिबार राति प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले जनपदतर्फका प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
प्रहरीले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले जानकारी दिएको खबर राससले प्रेषित गरेको छ ।