रुकुम पूर्वको एक विद्यालयका ठूलो सङ्ख्याका विद्यार्थी एकैसाथ बिरामी भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका– ६, मयाङको जनजागृत आधारभूत विद्यालयका ३७ जना विद्यार्थी एकै पटक बिरामी भएका हुन् ।
आइतबार बिहान विद्यालयमा ‘प्रार्थना’ गरिरहेका विद्यार्थीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, वान्ता हुनेजस्ता समस्या देखिएको प्रधानाध्यापक चेतकुमार सेनले बताए । बिहीबारदेखि नै एक–दुई जनामा यस्तो समस्या देखिएको तर आइतबार भने ठूलो सङ्ख्यामा विद्यार्थी बिरामी भएको उनले बताए ।
दुर्गम ठाउँमा रहेको त्यस विद्यालय नजिक कुनै पनि स्वास्थ्य संस्था नहुँदा उपचारमा समस्या आएको छ । २ सय ७९ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा अहिले एकै पटक ३७ जना बिरामी भएका हुन् । उपचारका लागि हुकामबाट स्वास्थ्यकर्मीको टोली मयाङतिर गएको वडाध्यक्ष सेनले बताएको खबर राससले प्रेषित गरेको छ ।