newskoseli.Com

हर्न बजाउने १७१ सवारी साधनमाथि एकैदिन कारबाही

जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि ट्राफिक प्रहरीले कारबाही अघि बढाएको छ ।

उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीर रुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही अघि बढाएको हो । महाशाखाले आइतबार मात्र १ सय ७१ सवारी साधनका चालकमाथि कारबाही गरेको छ ।

ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास आउने, रक्तचाप बढ्दै जाने, हृदयाघात हुने, पक्षाघात हुने, श्वासप्रश्वास प्रणालीमा असर पर्ने, स्मरणशक्तिमा कमी आउने र अशक्त, बालबालिका, ज्येष्ठ नागरिक तथा गर्भवती महिलालाई बढी असर हुने भएकाले कारबाहीलाई तीव्रता दिइएको हो ।

उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरानाक घुम्ती बाहेक अन्यत्र हर्न बजाउन पूर्णरुपमा निषेध गरिएको जानकारी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले दिए । ‘ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारी साधनलाई आयातमा नै रोक लगाउन अनुरोध समेत गरेका छौं’– उनले भने ।

२०७४ वैशाख १ देखि उपत्यकालाई ‘हर्ननिषेध क्षेत्र’ नै घोषणा गरिएको थियो । उक्त घोषणा धेरै मात्रामा लागू भए पनि पूर्णरुपमा भने लागू भएको छैन । महाशाखाले हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने ३० हजार ४ सय ६८ सवारी साधनका चालकलाई कारबाही गरिसकेको छ ।

ध्वनि प्रदूषण गरेबापत कारबाहीस्वरुप एउटा सवारी साधनबाट महाशाखाले ५ सय रुपैयाँ लिँदै आएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर