खड्ग नगरपालिका– ५, खरचुहिया, सप्तरीका ७० वर्षीय श्रीमान् र उनकी ६५ वर्षीया पत्नीलाई जिउँदै आगो लगाएर हत्या गरिएको छ ।
सबुरी साह र उनकी पत्नी बेचनीदेवीलाई जिउँदै आगो लगाएर हत्या गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । कपडामा बेरेर आगो लगाइएको अवस्थामा उनीहरूको शव फेला परेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिएका छन् ।
उनको घरमा दूध लिएर आउने व्यक्तिले मंगलबार बिहान ढोका नखुलेको र झ्यालबाट धुवाँ आइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेर ढोका फोडी भित्र पस्दा दुवै दम्पतीको शव जलेको अवस्थामा फेला परेको बताइएको छ ।
मृतक साहले ब्याजमा रकम लगानी गर्ने काम गर्दै आइरहेको स्थानीयवासीले बताए पनि साह दम्पतिको हत्या कसले र किन गर्यो भन्ने खुलेको छैन । तालिम प्रााप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरेर हत्यारा पत्ता लगाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा रगतको छिटा समेत पाइएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताएका छन् ।