
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली युवानेता रवीन्द्र अधिकारीलगायत ६ जना सवार हेलिकप्टर दुर्घटना भएको छ ।
मन्त्री अधिकारीलगायत सवार एयर डायनिस्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनामा परेको जानकारी गृहसचिव प्रेमकुमार राईले दिएका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । गृहसचिव राईले भनेका छन्– ‘बुधबार दिउँसो पाथीभराबाट चुहानडाँडा जाँदा हेलिकप्टर क्र्यास भएको खबर आएको छ ।’
क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलिकप्टरमा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसास श्रेष्ठ, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभयालगायत सवार थिए । सो हेलिकप्टर बुधबार बिहान पौने ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ताप्लेजुङका लागि उडेको थियो । हेलिकप्टर दिउँसो १ बजेर २५ मिनेटमा पाथीभरा मन्दिरबाट काठमाडौंका लागि उडेको थियो ।
प्राप्त जानकारी अनुसार ताप्लेजुङको बाह्रडाँडा नजिकै हेलिकप्टर खसेर जलेको छ । हेलिकप्टर आकाशमै आगो लागेर खसेको हो वा भुइँमा झरेर आगो लागेको हो भन्ने पनि खुलिसकेको छैन । हेलिकप्टरमा मन्त्री अधिकारीसहित सवार रहेको बताइएको छ । यो समाचार तयार पार्दासम्म सबै यात्रुको अवस्था अज्ञात नै छ ।
यो पनि पढ्नुहोस्–
दुर्घटनाग्रस्त हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित को–को सवार थिए ? (नामावलीसहित)