दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका– ३, राताकाठा क्षेत्रमा शुक्रबार राति ८ बजे जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा ७ महिला, ३ पुरुष र १ बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म १ ज २८० नम्बरको जिप महाकाली नदीमा खसेको हो ।
सख्त घाइते जिप चालक दीपकसिंह धामीलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए । जिप झन्डै ५ सय मिटर तल महाकाली नदीमा खसेको थियो ।
घटनास्थल सदरमुकाम खलङ्गाबाट ७ किलोमिटर उत्तरमा पर्ने खबर राससले प्रेषित गरेको छ ।