उपचारका क्रममा धौलागिरि अञ्चल अस्पतालमा निधन भएका निसिखोला गाउँपालिका– ७, राजकुत, मुदुङका ४५ वर्षीय लक्ष्मण विश्वकर्माको शव दुई दिनसम्म पनि उठाइएको छैन ।
उपचारका क्रममा धेरै टाढाबाट श्रीमतीसहित अञ्चल अस्पताल आएका विश्वकर्माको मृत्युपछि आर्थिक अभावका कारण अन्तिम संस्कारका लागि शव लैजान समस्या भएको परिवारले जनाएको छ । छरछिमेकीसँग ऋण गरी उपचारका लागि १४ फागुनमा अस्पताल आएका विकको परिवारसँग भएको पैसा पनि उपचारकै क्रममा सकिएकाले अहिले शव उठाएर घाटसम्म लैजान समस्या भएको मृतकका दाजु बलबहादुर विकले बताए ।
‘कसैले सहयोग गरे त भाइको शव आफ्नै घाटमा लैजाने मन थियो’ मृतकका दाजु बलहादुरले भने– ‘नजिकै कालीगण्डकीमा लैजाने तथा दाउरा, चिनी र कोरा कपडा किन्न समेत पैसा छैन ।’ भाइको मृत्युको खबर पाएलगत्तै गाडीभाडा समेत ऋण खोजेर बागलुङ बजार आएका विकले सहयोगका लागि सबैसँग अपिल गरेका छन् । ‘भाइको मृत शरीरले समेत सुःख पाएन,’ विकले थपे– ‘घाटमा पुर्याउन र काजकिरिया सक्न पनि ठूलो सकस भयो ।’
परम्परा अनुसार १३ दिन काजकिरिया गर्ने संस्कार रहे पनि आर्थिक अभावका कारण तीन दिनमै छोट्याउने तयारी गरिएको बलबहादुरले बताए । छिमेकीको शव उठाउन समस्या भएपछि स्थानीयवासीले सहयोग सङ्कलन गरी तत्कालको समस्या समाधान गर्ने तयारी गरेका छन् ।
स्थानीय पत्रकार सज्जनकुमार सिंहले भने– ‘पीडित परिवारसँग पैसा नभएकाले स्थानीय सङ्घ–संस्था र व्यक्तिसँग सहयोगका लागि अपिल गरेर शवलाई कालीगण्डकीसम्म लैजाने कोसिस भइरहेको छ ।’ रासस