रोमाञ्चकारी र साहसिक खेलका रुपमा खेलिँदै आएको सिन्धुपाल्चोकको लिस्तीमा अवस्थित बन्जी जम्प शनिबारदेखि प्रहरी अधिकृतको सेवा प्रवेश तालिममै समेत अनिवार्य गरिएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालित १७९औं समूहको प्रहरी निरीक्षक आधारभूत तालिममा सहभागी १४ जना महिलासहित १ सय २० जनाले बन्जी जम्प गरे । विभिन्न समयमा उद्धार कार्य गर्नुपर्ने परिस्थितिमा आइपर्ने हुँदा प्रहरीलाई बन्जी जम्प अनिवार्य गरिएको प्रतिष्ठानका प्रहरी उपरीक्षक मधुसूदन लुईंटेलले बताए ।
यस प्रकारको तालिम गत वर्ष पनि सोही स्थानमा दिइएको थियो । पर्यटनसम्बन्धी ‘वेभ’ पत्रिकाका अनुसार विश्वको सबैभन्दा अग्लो बन्जी जम्प दक्षिण अफ्रिकामा छ । त्यहाँको बन्जी जम्पको उचाई २ सय २० मिटर छ । भोटेकोशीको बन्जी जम्प १ सय ६० मिटरको उचाइमा भएकाले यो विश्वकै दोस्रो अग्लोमा पर्दछ ।
भोटेकोशी गाउँपालिका– ५, मार्मिङ र वडा नं. १ लिस्ती जोड्ने उक्त ‘बन्जी द लास्ट रिसोर्ट प्रालि’ द्वारा सञ्चालित बन्जी नेपाली व्यवसायी विष्णुप्रसाद न्यौपाने र नेदरल्याण्डका नागरिक डेविडले २०५६ देखि सञ्चालनमा ल्याएका हुन् । हाल दैनिक १ हजार २ सय जनासम्म बन्जी गर्न आउने र त्यसमध्ये ८५ प्रतिशत स्वदेशी नै गुने गरेको जानकारी व्यवस्थापक कुमार राउतले दिएको खबर राससले प्रेषित गरेको छ ।