निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ ।
सामाजिक उत्तरदायित्व अनुसार कम्पनीको आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने जानकारी वर्ल्डलिंकले प्रमुख कार्यकारी निर्देशक केशव नेपालले दिएका छन् । यस कम्पनीले अहिले ३ हजार ठाउँमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।
यो व्यवस्थाअनुसार सेवाग्राहीले एक पटक ‘लगइन’ गरेपछि करिव १ घन्टा ३० मिनेट निःशुल्क रूपमा इन्टरनेट चलाउन सक्नेछन् । पर्यटकीय क्षेत्र र बजारका मुख्य–मुख्य स्थानमा कम्पनीले निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउँदै आइरहेको छ । अधिकांश स्थानीय तहमा इन्टरनेट पुर्याएको वर्ल्डलिंकले सन् २०२२ सम्म सबै स्थानीय तहमा इन्टरनेट सेवा पुर्याइसक्ने जानकारी पनि प्रमुख कार्यकारी निर्देशक नेपालले दिएका छन् ।
इन्टरनेट विस्तार गर्ने क्रममा वर्ल्डलिंकले चार महिनामा करिव एक लाख जनालाई सेवा–सुविधा विस्तार गर्ने तयारी रहेको समेत उनले जानकारी गराए । २०५२ मा स्थापना भएको मुलुककै पुरानो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका अहिले २ लाख ८० हजार सेवाग्राही रहेका छन् ।
तीन वर्ष अघिसम्म कम्पनीका ३५ हजार मात्र सेवाग्राही थिए । दुर्गम क्षेत्रमा पनि इन्टरनेट पुर्याउने क्षमता समेत विस्तार गरिएको जानकारी प्रमुख कार्यकारी निर्देशक नेपालले गराए । उनका अनुसार कर्णाली प्रदेशका विकट जिल्ला हुम्ला, जुम्ला, डोल्पा र मुगुसहित अन्नपूर्ण बेस क्याम्पमा समेत यस वर्ष उच्च गतिको इन्टरनेट सेवा पुर्याइनेछ ।
एक वर्षभित्रमा दार्चुला, बझाङ, बाजुरा, सोलुखुम्बु र ताप्लेजुङमा समेत आफ्नो इन्टरनेट सेवा विस्तार गर्ने जानकारी उनले दिएको खबर राससले प्रेषित गरेको छ ।