newskoseli.Com

विप्लवप्रतिको कटाक्ष दोहोर्‍याउँदै प्रधानमन्त्रीले भने : ‘आतङ्क मच्चाउँदै लुटपाट गर्नेसँग वार्ता हुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हिंसाबाट आतङ्क मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने’ बताएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको टोलीसँग मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा ‘बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको’ दावी उनले गरेका हुन् ।

‘कतिपयले वार्ता गर्नुपर्‍यो भन्छन् तर केका लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतङ्कित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्,’ प्रधानमन्त्री ओलीले भने– ‘जहाँ–जहाँ धेरै पैसा छ भन्ने लाग्छ, त्यहीं बम हान्नेहरुसँग केको वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।’

‘एउटा गिरोहले कम्युनिस्टका नाममा आतङ्कित पार्ने काम गरिरहेको’ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने– ‘कम्युनिस्टले त युवालाई कर्मशील हुन, सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनुपर्ने हो, यहाँ त कम्युनिस्टको नाममा युवाहरुलाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।’

सङ्घका अध्यक्ष रोहन गुरुङको घरमा फागुन २४ मा बम विष्फोट भएको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन उक्त टोली आएको थियो । अध्यक्ष गुरुङको घरमा भएको विस्फोटप्रति दुःख व्यक्त गर्दै सो घटनाबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता उनले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर