newskoseli.Com

आपूर्तिमन्त्रीको निर्देशन : ‘चाडबाडमा मात्रै होइन, निरन्तर अनुगमन गर्नोस्’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निरन्तर बजार अनुमगन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै चाडवाडमा मात्रै नभई निरन्तर रुपमा बजार अनुगमन गर्न मन्त्री यादवले कर्मचारीलाई निर्देशन दिएका हुन् ।

‘पछिल्लो समय शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै नै बेथिति देखिएकाले यसको पनि नियमित अनुगमन गर्नोस्, आवश्यक परे सहयोग गर्न मन्त्रालय तयार छ’– मन्त्री यादवले भने । रकमको हिसाबले धेरै–थोरै जति भए पनि उपभोक्तालाई ठगी गर्नेहरु भ्रष्टाचारी नै भएको उल्लेख गर्दै त्यस्ता व्यक्ति र निकायलाई कानुनी कारबाहीको दायरामा ल्याउन सबैको साथ र सहयोगको आवश्यकता रहेको उनले बताए ।

गएको कात्तिकदेखि नयाँ ऐन कार्यान्वयनमा आएपछि अनुगमन अधिकृतहरुलाई बजार अनुगमन गर्न सहज भएको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । नयाँ ऐनअनुसार अनुगमन अधिकृतले गलत साबित गरे आवश्यकतानुसार पाँच हजारदेखि तीन लाख रूपैयाँसम्म अनुगमनकै क्रममा रकम असुल गर्न पाउने व्यवस्था छ ।

सबै स्थानीय तहमा उपभोक्ता सचेतना केन्द्र स्थापना हुनु पर्नेमा उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले जोड दिए । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आ.व. कोे हालसम्ममा १ सय ५ व्यवसायको अनुगमन गरी कारबाही स्वरूप २५ लाख रुपैयाँ असुल गरेको छ ।

सन् १९८३ देखि मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाउन थालिएको हो । हरेक वर्ष मनाइँदै आएको विश्व उपभोक्ता अधिकार दिवस यस वर्ष ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार हामी सबैको सरोकार भन्ने’ मूल नाराका साथ मनाइँदैछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर