नेत्रविक्रम चन्द ‘विप्लव’ सहित उनी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उच्च तहका सम्पूर्ण नेताहरुलाई पक्राउ गर्न भन्दै सरकारले नेपालका सबै (७७रै जिल्लाका) सुरक्षा संयन्त्रलाई ‘सर्कुलर’ जारी गरेको छ ।
विप्लव नेकपाका गतिविधिमाथि ‘उच्च निगरानी’ सुरु गर्दै सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमार्फत नेकपाविरूद्धका गतिविधि, क्रियाशीलता र निगरानी तेज पारेको छ । फागुन २८ को मन्त्रिपरिषद् बैठकले विप्लव नेकपालाई ‘आपराधिक र विध्वंसकारी समूह’ घोषणा गरेर त्यसका गतिविधिलाई ‘प्रतिबन्ध’ लगाउने निर्णय गरेसँगै गृह मन्त्रालयले उसका गतिविधिमाथि ‘उच्च निगरानी’ राख्दै सो पार्टीसँग सम्द्ध व्यक्तिहरुमाथि धरपकड बढाएको छ ।
नेपाल प्रहरीले ७७रै जिल्लामा उच्च सतर्कता अपनाएको र ‘शान्ति–सुरक्षा’ समेत सबल र सुदृढ पारेको जानकारी प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले दिएका छन् । ‘विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई समेत उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिइएको छ’– उनले भने । सरकारले विप्लव नेकपासँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत ‘कारबाही’ गर्ने निर्णय यसअघि नै सार्वजनिक गरिसकेको छ ।
सरकारको पछिल्लो निर्णयलगत्तै नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ सहित ११ जना नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् । सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठले पनि सबै जिल्लामा उच्च सुरक्षा सतर्कता बढाइएको जानकारी दिँदै नेकपाका गतिविधि कहीं–कतै देखिए तत्काल पक्राउ गरेर कानुन कार्यान्वयन गर्ने निकायसमक्ष बुझाइने बताएका छन् ।