newskoseli.Com

विवाहभोजमा गएका बस्नेत १० दिनदेखि बेपत्ता, किटानी जाहेरी दिँदा पनि प्रहरीको बेवास्ता !

बेताली, रामेछापका युवा बाबुराम बस्नेत १० दिनदेखि बेपत्ता भएका छन् । गाउँकै एक विवाहभोजमा सहभागी हुन गएका बस्नेत फागुन २५ देखि बेपत्ता भएका हुन् ।

बस्नेत फागुन २५ गते राति बेतालीको निङ्ग्रे भन्ने टोलमा राजकुमार भुजेलको निमन्त्रणामा सहभागी हुन गएका थिए । सोही राति करिव ११ बजेदेखि बस्नेत सम्पर्कबिहीन भएपछि परिवारमा रुवाबासी चलेको छ । उनी भुजेलको घरबाट नै सम्पर्कविहीन भएको दाबी गर्दै परिवारले केही शंकास्पद व्यक्तिहरुविरुद्ध किटानी जाहेरी समेत दिएका छन् ।

तर, प्रहरीमा उजुरी गरेको ९ दिनसम्म पनि बस्नेतको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेपछि परिवार र आफन्तहरुले प्रहरीको अनुसन्धान फितलो भएको गुनासो गरेका छन् । झै–झगडा भएर कतै अप्रिय घटना भएको हुन सक्ने आशंका गर्दै स्थानीयवासीहरु व्यापक रूपले उनको खोजीमा जुटेका छन् ।

करिव ३ सयको संख्याका स्थानीयवासी, आफ्न्त तथा परिवारले ९ दिनदेखि सम्भावित ठाउँ, खोला, भीरहरुमा खोजी गरिरहे पनि बस्नेतको अवस्था पत्ता लगाउन नसकिएको स्थानीय वासिन्दाहरुको भनाइ छ । किटानी जाहेरी गरेका व्यक्तिहरु समेत प्रहरीको अनुसन्धानमा नपर्नुले घटना रहस्यमय भएको बताइएको छ । नयाँ कानुनअनुसार प्रमाण नभेटिएसम्म शंकास्पद व्यक्तिहरुलार्इ नियन्त्रणमा लिन नमिल्ने भन्दै प्रहरीले घटनालार्इ टालटुल पार्न खोजेको आरोप स्थानीयवासीले लगाएका छन् ।

भुजेलको घरमा नाच्ने क्रममा बेतालीकै केही स्थानीयवासीहरुसँग बस्नेतको विवाद भएको बुझिएको छ । विवादले ठूलै रुप लिएपछि बाबुराम आफ्नै माछा फर्मतर्फ आएको एक जना प्रत्यक्षदर्शीले बताए । उनको माछा फर्म भुजेलको घर नजिकै छ । विवादमा संलग्न विपक्षीहरु उनलाई पछ्याउँदै माछा फर्मसम्म आएर फेरि झगडा गरेको हुन सक्ने आशंका स्थानीयले गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर