newskoseli.Com

विप्लवमाथि ‘प्रतिबन्ध’, वैद्य माओवादीका आधा दर्जन नेता–कार्यकर्ता गिरफ्तार !

हालै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमाथि ‘प्रतिबन्ध’ लगाएको सरकारले मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का झन्डै आधा दर्जन नेता–कार्यकर्तालाई सोमबार पक्राउ गरेको छ ।

सो पार्टीसम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाको ५ नम्बर प्रदेश सम्मेलनको तयारीमा जुटिरहेका वैद्य माओवादीका ५ जना नेता–कार्यकर्तालाई सम्मेलनको पूर्वसन्ध्यामा नेपालगञ्जबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा अखिल नेपाल किसान महासंघका महासचिव धनेश्वर पोखरेल, पार्टीको पाँच नम्बर प्रदेशका सदस्य विराट शाही, गोपाल वैद्य, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य इन्द्र दमाइँ र क्रान्तिकारी युवा लिगका जिल्ला सदस्य राकेश बस्नेत रहेको सो पार्टीले जनाएको छ ।

सम्मेलनको तयारीमा जुटिरहेका बेला उनीहरुलाई नेपालगञ्जबाट पक्राउ गरी वडा प्रहरी कार्यालयमा राखिएको छ । नेताहरु पक्राउ परेलगत्तै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष सीताराम तामाङ र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल बाँकेका अध्यक्ष सुरेश ओलीले छुट्टाछुट्टै वक्तव्य जारी गर्दै गिरफ्तार नेताहरुको अविलम्ब रिहाइको माग गरेका छन् ।

नेताहरुलाई विनाकारण गिरफ्तार गरी राज्यआतंक सिर्जना गर्न खोजेको र फासिवादी दमन लाद्न खोजेको भन्दै दुवै संगठनले ओली सरकारको यस कार्यको घोर भर्त्सना तथा कडा निन्दा गरेका छन् । नेताहरुको अविलम्ब रिहाई नगरिए सशक्त प्रतिरोधमा उत्रने चेतावानी समेत उनीहरुले दिएका छन् । पक्राउको कारणबारे वडा प्रहरी कार्यालयका इन्स्पेक्टर नारायण डाँगीसँग बुझ्दा उनले ‘अनुसन्धान भइरहेको’ मात्र बताएर स्पष्ट जवाफ नदिएको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर