काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि नयाँ ब्रुमर (यान्त्रिक कुचो) मार्फत राजधानीका सडक सफा गर्ने भएको छ । अघिल्लो सोमबार इटलीबाट काठमाडौं आइपुगेका ५ वटा सडक सफा गर्ने यन्त्रको प्रयोग पहिलो पटक रत्नपार्कमा गर्न लागिएको कामपाले जनाएको छ ।
अहिले ती ब्रुमर सञ्चालन गर्न चालक र सहचालकलाई तालिम दिने कामसँगै पार्टपुर्जा जडान भैरहेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिएका छन् । उनका अनुसार ती ब्रुमर सञ्चालनको तयारीका सबै काम बिहीबारसम्म सकी शुक्रबारदेखि प्रयोगमा ल्याइने छ ।
उक्त यन्त्रले नियमित रुममा कुन–कुन सडक सफा गर्ने भन्ने विषयमा कामपा प्रमुखसँग छलफल भएको प्रवक्ता डङ्गोलले बताए । कामपाकोे जिम्मेवारीमा कानुनी रुपले आठ मिटरभन्दा कम चौडाइका सडक मात्र पर्छन् । उक्त यन्त्र कुन–कुन स्थानमा प्रयोग गर्ने भन्ने यकिन अबको केही दिनमा नै हुनेछ । १० करोड ८० लाख रुपैयाँमा ती ब्रुमर ल्याइएका हुन् ।
यसअघि भने ‘विशिष्ट व्यक्ति’ को आवतजावतका बेला मात्र सडक विभाग र महानगरपालिकाको आपसी समन्वयमा विभागसँग रहेका दुई वटा ब्रुमरले सडक सफा गरिँदै आएको थियो । कामपासँग यसअघि रहेको एक ब्रुमर पनि काम गर्नै नमिल्ने अवस्थामा रहेको कामपाले जनाएको छ ।
असारमा गरिएको बोलपत्रको आधारमा उक्त यन्त्र ल्याइएका हुन् । सबै ब्रुमर अहिले राष्ट्रिय सभागृहमा राखिएका छन् । ५ वटा ब्रुमरमध्ये ४ वटा १६ टन क्षमताका छन् भने एउटा चाहिँ ६ टन मत्रै क्षमताको छ । दिनमा १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्न सक्ने क्षमता ती ब्रुमरमा रहेको बताइएको छ ।
‘युरो मापदण्ड’ का भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडिको भागको दायाँ–बायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ । पछिल्लो समय निर्माणकार्य तीव्र रुपमा भैरहेकाले धुलो बढिरहेको अवस्थामा ती ब्रुमरले ठूलो सहयोग पुर्याउने विश्वास कामपाले लिएको खबर राससले प्रेषित गरेको छ ।