newskoseli.Com

होलीकै बीचमा ७७ ठाउँमा ट्राफिक जाँच

होली पर्वमा हुने दुर्घटनालाई ध्यानमा राखेर ट्राफिक प्रहरीले उपत्यकाका ७७ स्थानमा विशेष जाँच गर्ने भएको छ ।

होली पर्वलाई दुर्घटनारहित बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न नाकासहित ७७ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको हो । मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा ३ जना राख्ने, तीव्र गतिमा चलाउने, ठूलो आवाज निकालेर सवारी साधन चलाउनेलाई कारबाही गर्न विशेष जाँचको मिलाइएको जानकारी प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले दिए ।

‘होलीलाई दुर्घटनारहित र मर्यादित बनाउन ५ सयभन्दा बढी ट्राफिक प्रहरी खटाउन लागेका छौं’– उनले भने । बिहान ७ देखि बेलुका ७ बजेसम्म गरिने सो जाँचका लागि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुगमन, १९ वटा मोबाइल टोली र मोटरसाइकलमा ट्राफिक प्रहरी परिचालन गर्न लागिएको महाशाखाले जनाएको छ ।

सवारी साधन प्रयोग गरी लोला हान्नेलाई नियन्त्रणमा लिई कारबाही गर्नुका साथै होलीमा कारबाही परेका सवारी साधनलाई अनिवार्य कक्षामा सहभागी हुने व्यवस्था गरिएको महाशाखाका प्रमुख पन्तले बताए । होली पर्वमा गत वर्ष मात्र २२ वटा दुर्घटना भएका थिए । उक्त दुर्घटनामा परी १ जना गम्भीर घाइते हुनुका साथै १७ जना घाइते भएको महाशाखाले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर