newskoseli.Com

‘अंगदान’ गरेर सांसदले मनाए जन्मदिन

चितवनका प्रदेशसभा सदस्य विजय सुवेदीले मरणोपरान्त अङ्गदान गरेका छन् । आफ्नो ५६औं जन्मदिनको उपलक्ष्यमा उनले भरतपुर अस्पतालमा अङ्गदान गरेका हुन् ।

मानव शरीरको अङ्ग प्रत्यारोपण ऐन, २०५५ अनुसार उहाँले मृत्युपश्चात मुटु, फोक्सो, कलेजो, प्यान्क्रियाज, मिर्गौलालगायत दान गर्ने मञ्जुरी दिएका छन् । भरतपुर अस्पतालमा कार्यक्रम आयोजना गरेर उनले मृत्युपश्चात अङ्गदान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन् ।

भरतपुर अस्पतालमा अङ्गदान गर्ने उनी नै पहिलो व्यक्ति हुन् । २०२० चैत ५ मा स्याङ्जामा जन्मेका सुवेदी हाल भरतपुर महानगरपालिका– १२ मा बस्छन् । अङ्गदानसँगै सांसद सुवेदीले अस्पताल परिसरमा पीपलका बिरुवा समेत रोपे । भरतपुर अस्पताल विकास समितिको अध्यक्ष भएर समेत उनले काम गरिसकेका छन् ।

मृत्युपश्चात माटोमा मिसिने शरीरका अङ्गले दानपश्चात धेरै मानिसलाई सुखी र खुशी जीवन बिताउन सघाउने भएकाले आफूले अङ्गदान गरेको उनले बताए । कुनै पनि मानिस अङ्गको अभावमा बाँच्नु नपरोस् भन्ने उद्देश्यका साथ अङ्गदानलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्ने उनको धारणा छ ।

मानिसले मरणोपरान्त अङ्गदानको विषयमा नबुझेकै कारण कार्यान्वयनमा चुनौती बनेको चिकित्सकले जनाएका छन् । दुर्घटनामा परेर जीवन गुमाउनेको अङ्गदान हुन सकेमा नेपालमा अङ्गको पर्खाइमा रहेका बिरामीले जीवन पाउन सक्ने चिकित्सिकको सुझाव छ । ‘यसका लागि सबैमा चेतना हुनुपर्छ,’ भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले भने– ‘पहिलो पटक यहाँ सुरुआत गरेका छौं ।’

मिर्गौलाको डायलासिस धेरै खर्चिलो रहेकाले प्रत्यारोपणमा जानुपर्ने पौडेलले बताए । उनले भने– ‘सरकारले हरेक प्रदेशमा एउटा मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ, प्रदेश–र ३ को भरतपुर अस्पतालमा राख्न हामीले पहल सुरु गरिसकेका छौं ।’ चितवनमा अङ्गदानलाई अभियानकै रुपमा सञ्चालन गरिने उनले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर