होटलभित्र अवैध रूपमा अश्लील कार्य सञ्चालन गरेको आरोपमा प्रहरीले एक होटल सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाएको छ ।
सिरहाको मिर्चैयास्थित होटलभित्र अवैध यौनजन्य क्रियाकलाप सञ्चालन गरेको भन्दै प्रहरीले राहुल होटलका सञ्चालक सञ्जय ठाकुर र ललिता ठाकुर शर्मालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको हो । होटलभित्र अवैध रूपमा युवती राखेर यौन क्रियाकलाप गराइरहेको स्थानीयवासीको गुनासोपश्चात सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए ।
पछिल्लो पटक सोमबार राति काठमाडौंबाट आएका दुई युवक उक्त होटलमा कोठा भाडा लिएर बास बसेका थिए र बिहान पैसा तिर्ने विषयमा होटल सञ्चालक र युवाबीच झगडा भएको थियो । सो क्रममा एक युवक होटलको तेस्रो तलाबाट स्थानीय शम्भु साहको घरको छतमा हामफालेपछि युवकको खुट्टा भाँच्चिएपश्चात यस्तो रहस्य बाहिर आएको स्थानीयवासीले बताएका छन् ।
होटल सञ्चालक सञ्जय ठाकुर र ललिताविरुद्ध सार्वजनिक मुद्दा दायर गरी थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गौतमले बताए । ती होटल सञ्चालकमाथि यसअघि पनि मुद्दा चलाइएको थियो ।
अवैध मदिरा बरामद
प्रहरीले सिरहा नगरपालिका– १२, लगडीगोठबाट बिहीबार बिहान १६ कार्टुन मदिरा बरामद गरेको छ । नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी लगडीबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणमा मदिरा बरामद गरेको हो ।
कारबाहीका लागि बरामद गरिएको मदिरा जिल्ला भन्सार कार्यालय मार्डरमा बुझाइने प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।