
सरकारी लाभको पदमा रही अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करदाता सेवा कार्यालय पाँचथरका कर अधिकृत मानबहादुर विक र उनकी श्रीमतीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
निज विकले आर्जन गरेको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको तथा उनको वैध आय १ करोड २७ लाख ६६ हजार ९ सय ४५ को तुलनामा स्रोत खुल्न नसकेको १ करोड ८२ लाख ६७ हजार ७ सय ७९ को स्रोत पुष्टि नभएकाले निजले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आयोगले जनाएको छ ।
स्रोत पुष्टि गर्न नसकेको सोही रकम बराबर आयोगले उनीविरुद्ध बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गरेको छ । २०६८ असोज २२ मा नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृत पदमा नियुक्त भएका विक सो नियुक्तिपूर्व २०६६ चैत १० देखि २०६८ असोज २१ सम्म रोल्पास्थित श्रीकृष्ण माविमा राहत शिक्षकका रुपमा कार्यरत थिए ।
अधिकृत तहको नियुक्तिपछि मङ्सिर मसान्तसम्मको अवधिमा निजको आय–व्यय तथा आर्जित सम्पत्तिमाथि अनुसन्धान गर्दा निजले तलब–भत्ता, प्रोत्साहन भत्ता, श्रीमती आइतमाली विकको पारिश्रमिक आय, जग्गा बिक्री, व्यवसाय आय एवं कर्जालगायतबाट निजले १ करोड २७ लाख ६६ हजार ९ सय ४५ रुपैयाँ बराबर आयआर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।
सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, व्यवसायमा लगानी, शैक्षिक खर्च, कर्जा चुक्ता एवं विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दात लगायतमा ३ करोड १० लाख ३४ हजार ७ सय २४ रूपैयाँ खर्च तथा लगानी गरेको भेटिएको थियो ।
विकले पदीय दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेर अस्वाभाविक उच्च जीवनयापन गरिहेकाले कारबाही गरिपाऊँ भनी आयोगमा उजुरी दर्ता भएको थियो । उजुरीमाथिको अनुसन्धानका क्रममा निजले आफू तथा श्रीमती आइतमाली विक समेतको नाममा चल–अचल सम्पत्ति खरिद एवं लगानी गरेको पाइएको थियो । अवैध सम्पत्ति जफत गर्ने प्रयोजनका लागि निजकी श्रीमतीविरुद्ध समेत मुद्दा दायर गरिएको आयोगले जनाएको खबर राससले प्रेषित गरेको छ ।