newskoseli.Com

विप्लव नेकपाद्वारा अजेयराज सुमार्गीको २५ रोपनी जग्गा ‘कब्जा’ !

‘पीडितहरु’ ले आफ्नो पार्टी मातहतको ‘जनसरकार’ मा उजुरी दिएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चर्चित व्यवसायी अजेयराज सुमार्गीको पोखरास्थित २५ रोपनी जग्गा ‘कब्जा’ गरिएको दावी गरेको छ ।

पोखरा महानगरपालिकाको शिशुवामा रहेको सुमार्गीको उक्त जग्गामा शनिबार बिहानै ब्यानर र झन्डा टाँगेर ‘कब्जा’ गरिको जनाउ नेकपा कास्कीले दिएको हो । कित्ता नम्बर २९०६,५७०३,२९१०,५६९८,५७००,७६११,२१६५ ,२१६९,५६०२,५७१४, ५७१६,२१६७,२१७१,२१७५,२६३ ५,२८९६,२८९९ रहेको कूल २५ रोपनी क्षेत्रफलको आफूहरुको जग्गा आफूहरुलाई नै थाहै नदिई अजेयराज सुमार्गीको स्वामित्वमा रहेको मुक्तिश्री प्रालिले आफ्नो नाममा सारेको भन्दै सोवाचन्द्र सिग्देल, रामचन्द्र सिग्देल र हरिचन्द्र सिग्देलले दिएको उजुरीका आधारमा कब्जामा लिइएको दावी नेकपा कास्कीले गरेको छ ।

पोखरा महानगरपालिका– १२ निवासी बद्रीप्रसाद आचार्यसँगको मिलेमतोमा २०७१ असोज २६ मा सिग्देल परिवारलाई थाहै नदिई उक्त जग्गा अजेयराज सुमार्गीले आफ्नो कम्पनीका नाममा सारेको दाबी गरिएको छ । सुमार्गीले सिग्देल परिवारहरुको सम्पर्कमै नआई मुक्तिश्री प्रालिका नाममा विनाखबर २०७५ को धानबालीमै डोजर चलाएर तारबार लगाएपछि जग्गा विवाद चर्केको बताइएको छ ।

सरकारी अदालतमा कानुनी उपचार खोज्दा समेत न्याय नपाएपछि ‘पीडित’ हरुले बाध्य भएर नेकपा मातहतको ‘जनपरिषद’ मा उजुरी दिएको दावी पोखराबाट प्रेषित खबरमा गरिएको छ । पीडित परिवारले ‘न्यायका लागि’ भन्दै ‘जनपरिषद’, कास्कीमा गरेको निवेदन र छानबिनका आधारमा ‘पीडित पक्षलाई न्याय दिनका लागि’ सो जग्गा कब्जा गरिएको दावी नेकपा कास्कीले गरेको छ ।

‘विवादित जग्गा किनबेच, भोगचलन तथा बैङ्किङ कारोबार नगर्न–नगराउन तथा सबै प्रकारका दलालहरुबाट सचेत रहन’ र नापी, मालपोत, जनसाधारण, व्यवसायी, लेखापढी व्यवसायी सबैलाई समेत कुनै पनि प्रयोजनमा सो जग्गामा सहभागी नहु्न नेकपा कास्कीले अनुरोध गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर