
विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा बडो रोमाञ्चकारी ढंगले पढ्न र सुन्न पाइने अपत्यारिला लाग्ने तर वास्तविक घटनाका उदाहरणहरु अब नेपालमै पर्याप्त उपलब्ध छन् । दसवर्षे नेपाली जनयुद्ध र नेपालको माओवादी आन्दोलनले किंबदन्ती झैं लाग्ने अनेकौं सुखान्त, दुःखान्त, संयोगान्त र वियोगान्त घटनाहरु जन्माएको छ ।
यस्तै रोचक तर वास्तविक जीवनका निम्ति असाध्यै दुःखद एउटा पछिल्लो घटनाका रुपमा आएको छ– पूर्वपत्नी मन्त्री रहेकै बेला उनकै क्याबिनेटको निर्णयअनुसार राज्यको कठोर ‘दमन’ भोग्न अभिशप्त पूर्वपतिको दुःखान्त ।
केपी ओली नेतृत्वको वर्तमान सरकारकी सरसफाइ तथा खानेपानी मन्त्री हुन् विना मगर । उनै मन्त्री मगरका पूर्वपति शंकर अधिकारी यतिबेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको मध्यमस्तरका नेता रहेछन् । बहालवाला मन्त्रीका पूर्वपति अधिकारी शनिबार बिहानै विप्लव नेकपाका एक शीर्ष नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ सँगै काभ्रेपलाञ्चोकबाट प्रहरीको कब्जामा परेका छन् ।
वर्तमान मन्त्री मगर र हालका ‘विद्रोही’ नेता अधिकारी तत्कालीन नेकपा (माओवादी) हुँदै एकीकृत नेकपा (माओवादी) कालसम्म दाम्पत्य जीवनमा सँगै थिए र एउटै पार्टीमा क्रियाशील पनि थिए । तर, एमाओवादी विभाजित भएर मोहन वैद्य ‘किरण’ को नेतृत्वमा नेकपा–माओवादी बन्दा यो जोडी राजनीतिक रुपले टुक्रियो र दुईतिर भयो ।
किरण नेतृत्वको नेकपा माओवादी पनि नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा फेरि टुक्रिँदा अधिकारी विप्लव नेतृत्वको पार्टीतिर पुगे भने पूर्वपत्नी मगर चाहिँ प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) हुँदै हालको नेकपाका तर्फबाट नेपाल सरकारको क्याबिनेट मन्त्री बन्न पुगिन् । र, यसबीच उनीहरुको दाम्पत्य जीवन समेत टुक्रिएर आ–आफ्नो बाटो तय भैसकेको छ ।