newskoseli.Com

सोमबारदेखि ३ दिन राजधानीसहित देशभर वर्षा हुने !

पश्चिमी वायुको प्रभावले सोमबार मौसम बदलीसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

सोमबार बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघ गर्जनसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार दिउँसो पश्चिमी क्षेत्रमा यसको प्रभाव देखिन्छ र बेलुकीपखदेखि मध्य र पूर्वी भू–भागको मौसम पनि क्रमशः प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रि–मनसुनको समय भएकाले वर्षा लामो समयसम्म नहुने र छिनमै मौसम परिवर्तन हुने बताइएको छ । राति देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबार देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, बुधबार देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही उच्च पहाडी भेगका केही स्थानमा र हिमाली भेगका एक–दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार सोमबार काठमाडौंको न्यूनतम तापक्रम ११ दशमलव शून्य डिग्री सेल्सियस र अधिकमत तापक्रम २७ दशमलव ८ सेल्सियस रहेको छ । सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर