newskoseli.Com

विप्लव नेकपाका नेता शाही पक्राउ : प्रहरी गस्तीमाथि विष्फोट गराएको आरोप

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कर्णाली इन्चार्ज धनराज शाहीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

जुबिया– ८, लिबुवा, कालिकोटका शाहीलाई मोल्पा राताडाबाडबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीको गस्ती टोलीलाई आक्रमण गर्ने र विभिन्न ठाउँमा बम बिस्फोट गराउने योजना बनाइरहेका बखत उनलाई पक्राउ गरिएको दावी कालिकोटका प्रहरी प्रमुख विनोद शर्माले गरेका छन् ।

पक्राउ परेका शाही विप्लव नेकपाले गठन गरेको कालिकोट जिल्ला ‘जनसरकार’ प्रमुख समेत हुन् । शाहीबाट बम बिस्फोटमा प्रयोग हुने जिलेटिन ३२ थान, इलेक्ट्रिक डेडकर्ड १ थान, आर्इइडी माइन १ थान, बारुद १ किलो, डेडकर्ड ३ मिटर बरामद भएको दावी प्रहरी प्रमुख शर्माले गरेका छन् ।

शाहीमाथि बम बिस्फोट, राज्यविरुद्धको अपराध तथा संगठित अपराध ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ । ‘विभिन्न ठाउँमा बम बिस्फोट गराउने योजना बनाइरहेका बेला उनलाई पक्राउ गरिएको हो,’ शर्माले भने– ‘के–के मुद्दा आकर्षित हुन्छन्, प्रारम्भिक अनुसन्धानपछि भोलि अदालत लगेपछि नै थाहा हुनेछ ।’

शर्माका अनुसार भेरी–कर्णालीका १० जिल्लामा संगठन विस्तार गर्ने, बम बिस्फोट गराउने, चन्दा आतंक मच्चाउने कार्यमा शाही सक्रिय थिए । भदौ १० मा आयोजित विप्लव नेकपाको बन्दका क्रममा उनले दैलेख र कालिकोटको सीमानामा बम बिस्फोट गराई आतंक मच्चाएको प्रहरीको आरोप छ । त्यही दिन जिल्ला नापी र मालपोत कार्यालय छेउमा बम बिस्फोट गराइएको थियो । सो घटना शाहीकै नेतृत्व र निर्देशनमा भएको शर्माको दावी छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर