नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र त्यसका सम्पूर्ण क्रियाकलापमाथि ‘प्रतिबन्ध’ लगाएर सरकारले देश्व्यापी रुपमा गिरफ्तारी र धरपकड तीव्र बनाइरहेका बेला समाजका विभिन्न तह–तप्काले सरकारी कदमप्रति असन्तुष्टि जाहेर गदै वार्ताबाट समाधान खोज्न सुझाउँदै आइरहेका छन् ।
यसै मेसोमा मंगलबार वकिलहरुको छाता संगठन नेपाल बार एशोसियसनले पनि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई प्रशासनिक तवरबाट नभई वार्ताका माध्यमबाट समाधान खोज्न सरकारसँग अनुरोध गरेको छ ।
बारका महासचिव खम्मबहादुर खातीले जारी गरेको प्रेस विज्ञप्तिमा विगतका राजनीतिक आन्दोलनमा सरकारले गरेको बन्देज तथा शक्तिको अत्यधिक प्रयोगले समाधान प्राप्त नभएको हुँदा राजनीतिक रुपमा समाधान रोज्नुपर्ने उल्लेख छ । विप्लव नेकपाका क्रियाकलापलाई ‘प्रतिबन्ध’ लगाउन सरकारले फागुन २८ मा गरेको निर्णय फिर्ता लिई वार्ता, सहमति र समझदारीमार्फत समाधान खोज्न बारले आग्रह गरेको खबर राससले प्रेषित गरेको छ ।