‘नेपाल लगानी सम्मेलन, २०१९’ मा सहभागी विभिन्न मुलुकका सम्बन्धित निकायका प्रतिनिधिले नेपालका लागि ‘नयाँ संविधान’ को कार्यान्वयन र राजनीतिक स्थिरतासँगै लगानी र विकासका लागि उपयुक्त अवसर भएको बताएका छन् ।
आ–आफ्नो मुलुकको विकासको अनुभव प्रस्तुत गर्दै ‘नेपालले लगानी सम्मेलन गरेर वैदेशिक लगानीका लागि उचित किसिमले ढोका खोलेको’ उनीहरुले उल्लेख गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उदघाटन गरेको सम्मेलनको शनिबार समापन भएको छ ।
आफ्नो मुलुकले खुला अर्थतन्त्रमा विश्वास गर्ने र नेपालको छिमेकी भारतसँग व्यापारिक सम्बन्ध विकसित भइसकेकाले नेपालमा पनि लगानी ल्याउन कठिनाइ नहुने नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत साडिक जाफेरले बताए । त्यसैगरी, वैदेशिक लगानी आकर्षित गर्न लगानी संरक्षण सम्झौता र दोहोरो कर उन्मुक्ति सम्झौता आवश्यक भएको संयुक्त अरब इमिरेट्स (युएई) को अर्थ मन्त्रालयका वैदेशिक व्यापार उपसचिव अब्दुल्लाह अल सालेहले बताए ।
लगानीकर्तालाई कुनै प्रकारका कानुनी व्यवधान आउन नदिनेतर्फ सतर्क हुनुपर्ने भन्दै त्यसका लागि नेपाल सरकारले सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए । अन्य मुलुकको तुलनामा नेपालमा लगानी गर्ने लगानीकर्ताले उच्च प्रतिफल हासिल गर्न सक्ने अवस्था रहेको उनले बताए । सालेहले भने– ‘वैदेशिक लगानी भनेको रकम मात्र होइन, प्रविधि र ज्ञानको दक्षता पनि हो ।’
राजनीतिक स्थिरतासँगै अगाडि बढेको मुलुकमा लगानीको प्रचुर सम्भावना रहेको औंल्याउँदै नेपालका दुई छिमेकी मुलुक यहाँका उद्योगीका लागि ठूलो बजार भएको उनले बताए । युएईको चीन पहिलो र भारत दोस्रो व्यापार साझेदारी मुलुक हुन् । युएई नेपालका लागि तेस्रो ठूलो व्यापार साझेदार मुलुक भएको तथ्य पेस गर्दै दुई मुलुकबीच ३० करोड अमेरिकी डलर बराबरको व्यापार भएको उनले उल्लेख गरे ।
आफूहरुले सुरुमा लगानी भित्र्याउन विश्वका मुख्य मुलुकमा आफ्नो लगानी बोर्डको कार्यालय खोलेको र सम्पर्क विस्तार गरेको अनुभव मलेसियाका लगानी विकाससम्बन्धी प्राधिकरणका प्रमुख कार्यकारी शिव सूर्यमूर्ति सुन्दर राजाले सुनाए । लगानी बोर्डलाई अध्यागमनको निकायसँग तालमेल गर्दै लगानीकर्ताका लागि प्रमाणपत्र वितरण र लगानीका लागि सहजीकरण गर्न बोर्ड प्राधिकारपूर्ण हुनुपर्ने सुझाव उनले दिए ।
विकसित मुलुकका लगानी र विकासको सफलताका अनुभवले आफूहरुलाई समेत ऊर्जा मिलेको र नेपाल विकास तथा समृद्धिको मार्गमा अघि बढ्न सक्ने सम्भावना देखिएको नेपालका उद्योगपति एवं ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योतिले बताएको खबर राससले प्रेषित गरेको छ ।