नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्लास्तरीय नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
सो पार्टीका कास्की जिल्ला प्रमुख रामकाजी गुरुङलाई शुक्रबार साँझ पोखरा– २५, याम्दीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिएका छन् ।
पोखरा– ११, फूलबारी निवासी गुरुङ विप्लव नेतृत्वको पार्टीका कास्की जिल्लामा प्रभावशाली मानिने नेता भएको बुझिएको प्रहरीको दावी छ । प्रहरीले गत हप्ता सोही पार्टी मातहतको तमुवान जनपरिषदका संयोजक लेखनाथ निवासी किसानसिंह गुरुङलाई समेत पक्राउ गरेको थियो ।
सरकारले विप्लव नेतृत्वको पार्टी र त्यसका गतिविधिमाथि ‘प्रतिबन्ध’ लगाएसँगै गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट उक्त पार्टीका २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।