newskoseli.Com

८०६ जना जुवाडे पक्राउ, लागूऔषधसहित अधिकारी कर्‍याप्प

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको लु १ ख ९२४२ नम्बरको यात्रुवाहक बस जाँचका क्रममा प्रभागको टोलीले लागूऔषधसहित गौरीगञ्ज गाउँपालिका– ३, झापाका २४ वर्षीय समीर अधिकारीलाई शनिबार राति पक्राउ गरेको हो ।

डाइजेपाम १ सय ४७ एम्पुल, फेनार्गन १ सय ४५ एम्पुल र नुर्फिन १ सय ४६ एम्पुलसहित अधिकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले जानकारी दिए । अधिकारीले झोलामा लुकाएर ती लागूऔषध ल्याएको अवस्थामा पक्राउ गरिएको प्रवक्ता बोगटीले बताए ।

जुवातास खेल्ने ८०६ जना पक्राउ

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जुवातास खेल्ने तथा खेलाउने ८०६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा जुवातास खेल्ने तथा खेलाउने ८०६ जनालाई महानगरीय प्रहरी कार्यालयअन्तर्गत रहेका काठमाडौं, भक्तपुर र ललितपुर प्रहरीले चालू आ.व. मा पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंबाट ६ सय ३२, भक्तपुरबाट १ सय ४८ र ललितपुरबाट २६ रहेका छन् ।

काठमाडौंबाट साउनमा ६१, भदौमा ११, असोजमा ८८, कात्तिकमा ८७, मङ्सिरमा ९४, पुसमा ७६, माघमा ७८ र फागुनमा १ सय ३७ जनालाई पक्राउ गरिएको छ । भक्तपुरबाट साउनमा १४, भदौमा १७, असोजमा ४०, कात्तिकमा ४३, मङ्सिरमा ९, पुसमा ७ र माघमा १८ जना पक्राउ परेका छन् भने ललितपुरबाट असोजमा ११, कात्तिकमा ११ र पुसमा ४ जना पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये काठमाडौंका ८०, ललितपुरका ३ र भक्तपुरका ७ जनालाई मुद्दा दायर गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । जुवातासमा प्रहरीले पक्राउ गरेकामध्ये काठमाडौंबाट साउनमा ३, भदौमा ८, असोजमा ११, कात्तिकमा ९, मङ्सिरमा ९, पुसमा ८, माघमा ९ र फागुनमा २३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । भक्तपुरबाट भदौमा २, असोजमा २, पुसमा १ र माघमा २ तथा ललितपुरबाट असोजमा २ र कात्तिकमा १ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

उपत्यकामा जुवातास खेल्ने तथा खेलाउनेसँग प्रहरीले चालू आ.व. मा मात्र१ करोड ६ लाख ९७ हजार रुपैयाँ समेत बरामद गरेको छ । बरामद भएको रकममध्ये काठमाडौंबाट ९२ लाख ३५ हजार, ललितपुरबाट १ लाख ४ हजार र भक्तपुरबाट १३ लाख ५८ हजार रुपैयाँ रहेको प्रवक्ता ज्ञवालीले बताए ।

जुवातासले मानिसको भविष्य नै समाप्त पार्न सक्ने भन्दै उपत्यका प्रहरीले जुवातासमा विशेष कडाइ गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर