newskoseli.Com

२२ हजार ड्राइभरसँग लाइसेन्स छैन, ‘चिट’ मात्रै छ !

सरकारले पुरानो किसिमका सवारी चालक अनुमतिपत्र खारेज गर्दै २०७२ मा मेसिन रिडेबल (स्मार्ट) लाइसेन्स जारी गर्न सुरु गर्‍यो । ट्रायल दिएर लाइसेन्स कार्ड लिनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ ।

यातायात व्यवस्था विभागले समयमै लाइसेन्स वितरण गर्न नसक्दा धेरै चालक ट्रायल पास गरेको कागज (चिट) बोकेर हिँड्न बाध्य छन् । तयारीबिना पुरानो लाइसेन्स खारेज गर्दै स्मार्ट लाइसेन्स सुरु गरेपछि नवीकरण गरेका र ट्रायल पास गरेका सवारी चालक लाइसेन्सविहीन छन् । यातायात व्यवस्था कार्यालय बाँकेमा मात्रै २०७३ देखि हालसम्म ट्रायल पास र पुरानो लाइसेन्स नवीकरण गरेका ६० हजारमध्ये ३८ हजारले मात्रै स्मार्ट लाइसेन्स पाएका छन् ।

कार्यालयका अनुसार अझै २२ हजारले स्मार्ट लाइसेन्स पाएका छैनन् । स्मार्ट लाइसेन्सका लागि लिखित र प्रयोगात्मक दुवै किसिमका परीक्षा दिई पास भएका र नवीकरण गरेकाले हालसम्म स्मार्ट लाइसेन्स पाउन नसक्दा सवारी चालक यातायात व्यवस्था कार्यालयले ट्रायल पास भएर राजश्व तिरेपछि कार्यालयले दिएको चिटको भरमा सवारी चलाउन बाध्य छन् ।

यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स लागू गर्ने योजना ल्याएपछि कार्डको छपाइमा छिटोछरितो गर्न नसकेकै कारण सवारी चालकहरु समस्यामा परेका छन् । सवारी चालक नरेन्द्र रेग्मी भन्छन्– ‘चिटको भरमा कहिलेसम्म गाडी चलाउनु ?’ यातायात कार्यालय धाउँदा–धाउँदै हैरान भइसकेको उनको गुनासो छ । ‘सेवाग्राहीले कहिलेसम्म दुख पाउने ? यति सानो काममा पनि सरकारले जनतालाई सेवा दिन सक्दैन भने अरु के आशा गर्ने ?’ पाँच महिनादेखि चिटकै भरमा गाडी चलाइरहेका रेग्मीले भने– ‘यातायातका कर्मचारीले विभागबाट लाइसेन्स छापिएर आएको छैन भन्नुहुन्छ ।’

सरकारले ०७२ मङ्सिरदेखि बाग्मती अञ्चलबाट स्मार्ट लाइसेस वितरण सुरु गरेको थियो । २०७३ साउनदेखि स्मार्ट लाइसेन्स वितरण देशैभर पुर्‍याइएको भए पनि ट्रायल पास र नवीकरण गरेकाले लामो समय बितिसक्दा पनि लाइसेन्स पाएका छैनन् । सुरुमा लाइसेन्स वितरणमा केही समस्या आएको यातायात कार्यालय बाँकेका खरिदार मुकुन्द केसीले बताए ।

उनका अनुसार पछिल्लो समयमा विभागले छपाइमा तदारुकता देखाएपछि समस्या सहज हुँदै गएको छ । खरिदार केसीले भने– ‘स्मार्ट लाइसेन्स विभागमार्फत नै स्मार्ट लाइसेन्स छपाइ हुने भएकाले जिल्ला तहमा हामीले केही गर्न सक्दैनौं । यस विषयमा विभागले नै चासोका साथ सहजीकरण गरिरहेको छ । अब बिस्तारै समस्या हट्दै जान्छ र वितरण सहज हुन्छ ।’

समस्यामा ट्राफिक प्रहरी : चालककाे हालत पनि उस्तै…

सवारी चालकले चिटको भरमा सवारी चलाउँदा वास्तविक चालक हो कि होइन भन्ने पहिचान गर्न समस्या हुने ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायको भनाइ छ । उनले भने– ‘कतिपय सवारी चालकसँग परिचय खुल्ने कागजात नहुँदा चालकले अर्को व्यक्तिको रसिद बोकेर सवारी चलाउँदा पहिचान गर्न समस्या हुने गर्छ ।’

उनका अनुसार ट्रायल पास गरेपछि सम्बन्धित यातायात व्यवस्था कार्यालयले दिने चिटमा चालकको फोटो हुँदैन । ‘चिटमा चालकको फोटो नहुँदा चिटको दुरुपयोग भएको पत्ता लगाउन हामीलाई कठिन छ । एउटाको चिट अर्को चालकले प्रयोग गरे–नगरेको थाहा नहुँदा चेकजाँचमा समस्या छ’– प्रहरी निरीक्षक रोकायले भने ।

चिटको दुरुपयोग रोक्न ट्राफिक प्रहरीलाई चुनौती छ भने चिटको भरमा सवारी चलाउने चालक पनि ट्राफिक प्रहरीबाट उत्तिकै पीडित छन् । सही चालकले चिट बोकेर सवारी चलाउँदा पनि ट्राफिक प्रहरीको अनावश्यक केरकार सहनु परेको सवारी चालक बताउँछन् । ‘लाइसेन्स आएको छैन, चिट देखाउँदा ट्राफिकले धेरै खोजीनीति गर्छन्’– चालक लालु महताराले भने ।

त्यसो त ट्राफिक चेकजाँचका क्रममा स्मार्ट कार्ड सक्कली हो वा नक्कली हो, सम्पूर्ण विवरण कार्डमा छन् कि छैनन् भनेर पत्ता लगाउने कार्ड रिडर मेसिन नहुँदा कठिनाई भइरहेको बताउँदै प्रहरी निरीक्षक रोकायले भने– ‘कतिपयले नक्कली कार्ड बोकेका हुन सक्छन्, हामीसँग स्मार्ट कार्डमा भएको चिप्स पढ्ने मेसिन छैन, नक्कली नै भए पनि छाड्नुपर्ने अवस्था छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर