न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावका कारण फेरि बिहीबारदेखि ३ दिनसम्म देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने (वर्षा हुने) सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार रातिदेखि कमजोर रूपमा पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावका कारण बदलीसँगै हल्कादेखि मध्यम वर्षा गराउने महाशाखाकी मौसमविद् मञ्जु बासीले बताइन् । उक्त प्रणाली क्रमशः विकसित भई शनिबारसम्म कायम रहने बताइएको छ ।
काठमाडौं उपत्यकामा बिहीबार दिउँसो केहीबेर मौसम खुला भई घाम लाग्ने र अन्य स्थानमा भने तत्काल मौसम सफा हुने अवस्था नरहेको जानकारी समेत मौसमविद् बासीले दिएकी छन् । बिहीबार राति देशको पूर्वी र मध्य भूभागमा आंशिक बदली रही पश्चिमी भूभागका एक–दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ ।
शुक्रबार देशका मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उच्च हिमाली भूभागहरूका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ८ डिग्री र अधिकमत तापक्रम २६ दशमलव ६ डिग्री सेल्सियस छ । धनगढीको अधिकमत तापक्रम सबैभन्दा बढी ३५ दशमलव शून्य डिग्री सेल्सियस रहेको खबर राससले प्रेषित गरेको छ ।