मलेसियाको सेपाङ भन्ने स्थानमा आइतबार राति यात्रुबाहक बस दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । सोही दुर्घटनामा बाह्र नेपाली घाइते भएका छन् ।
क्वालालुम्पुरस्थित अन्तर्राष्ट्रिय एअरपोर्टनजिकै बस दुर्घटना हुँदा दुई नेपालीसहित एघार जनाको मृत्यु भएको हो । ४३ जना सवार बसमा १४ जना नेपाली यात्रु रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । सो दुर्घटनामा रामु चौधरी र जागरनाथसिंह दनुवारको मृत्यु भएको छ । उनीहरु नेपाली नागरिक भए पनि कहाँका हुन् भन्ने खुल्न बाँकी नै छ ।
दुर्घटनामा नेपाली नागरिकहरु केशव थापा, लोकेश ओली, कृष्णबहादुर पुन मगर, भरत शाही, पदमबहादुर कुँवर, सन्तोषकुमार शाह, सुमन काउचा मगर, सन्तोषकुमार यादव, लोकेन्द्रबहादुर शाही, सुरज यादव, महेशकुमार बुढाथोकी र विश्वकर्मा मण्डल घाइते भएका छन् । घाइते सबैको पुत्राजय अस्पताल, सेरडाङ अस्पताल र बान्तिङ अस्पतालमा उपचार भइरहेको छ ।
मास कार्गो नामक कम्पनीमा कामदार पुर्याउन जाँदा आइतबार राति ११ः१० मा उक्त दुर्घटना भएको हो । नेपाली कामदारहरु मोतियारा कायामाश भन्ने कम्पनीमार्फत् मास कार्गो कम्पनीमा काम गर्न जाने गरेका हुन् ।