राजधानीको बसुन्धारास्थित ओसिस क्याफेसँगै रहेको ‘द वर्ल्ड कल्चर आर्ट एसोसिएन अफ नेपाल’ को अफिसमा सकेट बम फेला परेको छ ।
उक्त स्थानमा हतियार लुकाइएको सूचना आएपछि पुगेको प्रहरी टोलीले सो कार्यालयको माथिल्लो कोठास्थित सोफामुनि बम फेला पारेको हो । टोखा नगरपालिका– ५, का स्थानीयवासी जितमान गुरुङको उक्त घरमा बम फेला परेपछि खटिएको नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको जानकारी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले दिएका छन् ।
बमलाई कोठाबाट खुला ठाउँमा ल्याई डिस्पोज गरिएको हो । बम फेला परेपछि सोधपुछका लागि सो कल्चर सेन्टरका सञ्चालक प्रकाश सुवेदीसहित चार जनालाई पक्राउ गरिएको बोगटीले जानकारी दिएका छन् । सरकारले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सो बम राखेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । फोटोः फाइल तस्बिर