चैत २८ मा भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका नेपालका बैतडीसहित सुदूरपश्चिमका सबै नाका मंगलबारदेखि ३ दिनका लागि बन्द गरिएका छन् ।
भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु चैत २८ सम्म बन्द रहनेछन् । यसअघि भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा सुरक्षा बैठकले उक्त निर्णय गरेको थियो । आकस्मिक रुपमा कुनै कामले सीमा वारपार गर्नु परे द्विपक्षीय समझदारीमा आवतजावत मात्रै गर्न सकिने सम्झौता भएको सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ ।
सीमा क्षेत्रमा हुने चुनावलाई शान्तिपूर्वक सम्पन्न गर्न, मानव बेचबिखन नियन्त्रण, वन्यजन्तु तथा वनस्पति पदार्थ चोरी सिकारी नियन्त्रण, अवैध मुद्रा कारोबार नियन्त्रण, लागूपदार्थ ओसारपसार रोकथाम, सीमा सुरक्षाका विषयमा सूचना आदानप्रदान गर्ने, सीमामा संयुक्त सुरक्षा गस्ती गर्ने गरिने सन्दर्भमा समेत उक्त बैठकमा छलफल भएको थियो ।