newskoseli.Com

‘चट्याङबाट बच्न’ रक्सी छर्केर हतार–हतार घरभित्र !

जब आकाशमा कालो बादल मडारिन थाल्छ अनि मेघगर्जन सुरु हुन्छ तब पर्वतको एउटा गाउँका वासिन्दा ‘ज्यान जोगाउनका लागि’ हतार–हतार घरभित्र पस्न थाल्छन् ।

चट्याङका कारण वर्षेनि मानवीय र पशु चौपायाको क्षति हुन थालेपछि पर्वतको महाशीला गाउँपालिका– ६, फलामखानीका वासिन्दा त्रसित हुने गरेका छन् । बिहान, दिउँसो र साँझ जुनसुकै बेला पनि आकाशमा गड्यङगुडुङ गर्न हुनेवित्तिकै घरभित्र छिर्ने प्रचलन नै बनिसकेको स्थानीयवासीको भनाइ छ ।

त्यस गाउँमा वर्षेनि चट्याङका कारण एकदेखि तीन जनासम्मको ज्यान जाने गरेको छ भने धेरै पशुधनको समेत क्षति हुने गरेको स्थानीयवासी ठाकुर रसाइलीले जानकारी दिए । उक्त गाउँ पर्वतको सबैभन्दा बढी चट्याङ पर्ने गाउँका रुपमा परिचित समेत रहेको छ । विशेषतः फागुनदेखि जेठसम्म बढी घटना घट्ने गरेका छन् । चट्याङका कारण अहिलेसम्म झन्डै २० जनाको मृत्यु भइसकेको छ भने घाइतेको सङ्ख्या त्यति नै छ ।

स्थानीय जीतबहादुर विकका अनुसार आकाशमा मेघगर्जन सुरु भएपछि घर वरिपरि मदिरा छर्केर भित्र बस्ने चलन रहेको छ । ‘मदिरा छर्केपछि चट्याङ नपर्ने परम्परागत मान्यताका आधारमा मदिरा छर्कने गरेका छौं’– उनले भने ।

दलित समुदायको बाहुल्यता रहेको उक्त गाउँमा भूतप्रेत र दैवी शक्तिको पूजामा समेत मदिरा चढाउने प्रचलन रहेको छ । ‘घर वरिपरि मदिरा छर्केपछि दैवी प्रकोप हट्ने विश्वासले मदिरा छर्कने गरिएको हो’– उनले भने । ‘बाबु–बाजेको पालादेखि नै यस्तै गर्ने प्रचलन भएर हामीले पनि मेघगर्जन सुरु भएपछि मदिरा चढाउने गरेका छौं’– विकले भने । चट्याङका कारण गाउँमा ठूलो समस्या भएको अर्का वृद्ध धनबहादुर विश्वकर्माले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर