मेचीनगर नगरपालिका– ९, झापामा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसाईंको मृत्यु भएको छ ।
मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नम्बर १ ले पर्यटन प्रवर्द्धनका लागि बनाउँदै गरेको पोखरीमा शनिबार दिउँसो पौडी खेल्ने क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
६ जना साथीसँग पौडी खेल्न पोखरीमा पसेका प्रसाईं बाहिर ननिस्किएपछि साथीहरुले घरमा आएर आ–आफ्ना अभिभावकलाई घटनाबारे जानकारी दिएका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले शवलाई पोखरीबाट बाहिर निकालेको थियो ।
मृतकका बुबा भानु प्रसाईं मेचीनगर नगरपालिकाका पूर्वनगर प्रहरी हुन् । समितिका अध्यक्ष मुकेश सुब्बाका अनुसार सामुदायिक वन क्षेत्रमा सीमसार विकास गर्न दुई पोखरी निर्माणाधीन अवस्थामा छन् । निर्माणाधीन पोखरीमा वन समितिले पौडी खेल्न प्रतिबन्ध लगाएको भए पनि वन हेरालु खाना खान गएका बेला दुर्घटना भएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।