
‘यौन व्यवसाय’ मा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न भागबाट १ सय २५ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई फकाएर विभिन्न होटल तथा रेस्टुरेन्टमा लगी अनैतिक क्रियाकलाप गर्न खोज्ने १ सय २५ जनालाई पक्राउ गरेको हो ।
अनैतिक क्रियाकलाप हुने ठाउँलाई मध्यनजर राख्दै प्रहरीले उक्त क्षेत्रमा छापा मारेको जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले भने– ‘काठमाडौंमा हुने अनैतिक क्रियाकलापलाई रोक्नका लागि प्रहरीले उक्त अभियान सञ्चालन गरेको हो ।’
उक्त क्षेत्रमा महिला प्रहरीलाई सादा पोशाकमा परिचालन गरिएको थियो । पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको खबर राससले प्रेषित गरेको छ ।