अछामस्थित मंगलसैन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेर ध्वस्त पारिदिएको छ । नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा मंगलबार राति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ ।
रातको समयमा आगजनी भएकाले गाडी पूर्णरूपमा ध्वस्त भएको छ । नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउने बित्तिकै प्रहरी टोली परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो । गाडीमा आगजनी गर्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताएका छन् ।
गाडीमा आगजनी भएको जानकारी मंगलैन बजारका स्थानीयवासीले प्रहरीलाई गराएका थिए । रातको समयमा आगजनी गरिएकाले आगजनी कसले गरेको हो भन्ने कुरा अहिलेसम्म पत्ता नलागेको प्रहरी नायव उपरीक्षक शाहीले बताए । पार्किङ गरेर राखिएको गाडीमा योजनाबद्ध ढंगले नै आगजनी गरिएको हुन सक्ने प्रमुख प्रशासकीय अधिकृत गणेश ढुंगानाले बताए । सोही ठाउँमा पार्किङ गरिराखिएको ट्रिपरलगायतका अन्य सरकारी गाडीलाई भने केही पनि नगरिएको उनले बताए ।
नगरप्रमुख पदमबहादुर बोहरा चढ्ने उक्त गाडी नगरपालिकाले करिव एक वर्षअघि १ करोड २० लाख रुपैयाँमा खरिद गरेको थियो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले गाडीमा आगजनी गरेको हुन सक्ने दावी गर्दै प्रहरीले सोहीअनुरुप खोजी तीव्र पारेको खबर राससले प्रेषित गरेको छ ।