आफूलाई समात्न घरघरमै आएका प्रहरीसँग उल्टै पैसा फुत्काएर ‘दुर्व्यसनी’ चाहिँ फरार भएका छन् ।
फागुन २५ देखि जिल्ला प्रहरी कार्यालयले सदरमुकाममा लागूऔषध नियन्त्रणका लागि नयाँ अभियानको थालनी गर्यो । प्रहरीले थालेको यो अभियानले सदरमुकाम आसपासमा रहेका दुर्व्यसनीको पहिचान भएको छ । प्रारम्भिक चरणमा सादा पोशाकमा खटिएका प्रहरीले दुर्व्यसनीको पहिचान गरेको हो ।
२ समूहमा आबद्ध ८ प्रहरीको समूहले झन्डै एक हप्ताको प्रयासपछि सदरमुकाममा ४० दुर्व्यसनी रहेको पत्ता लगाएको थियो । पहिचान भएका दुर्व्यसनीलाई प्रहरीले पक्राउ भने गरेको छैन । लागूऔषध दुर्व्यसन कम गराउन अभियान चलाएको प्रहरीले दुर्व्यसनी र उनीहरूका परिवारजनलाई एकै ठाउँमा राखेर परामर्श दिएको जानकारी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले दिए ।
आफ्नै छोराछोरी दुर्व्यसनमा लागेको विषयमा अभिभावक र परिवारजनमा जानकारी समेत नभएको परिवारमा पुगेका प्रहरीले लागूऔषध दुर्व्यसनको असर र त्यसबाट परिवार तथा समाजमा पर्ने दुष्प्रभावका विषयमा जानकारी गराउने गरेको छ । प्रहरीले लागूऔषध प्रयोगकर्तालाई पक्राउ गरेर कारवाही गर्ने कानुनी आधार नभएका कारण उनीहरूको पहिचान गरेर परामर्श दिने गरिएको शर्माले बताए ।
लागूऔषधको प्रयोग र व्यापारलाई नियन्त्रण गर्न सशक्त अभियान चलाइरहेको प्रहरीले थप २७ जनाको पहिचान गरेर पक्राउ नै गरेको छ । पक्राउ परेकामध्ये १३ प्रारम्भिक चरणकै प्रयोगकर्ता रहेकाले परामर्शपछि तारेखमा छोडिएका छ भने दुई वर्षभन्दा धेरै समयसम्म निरन्तर लागूऔषध प्रयोग गर्दै आएका छ जनालाई सुधार केन्द्र पठाइएको प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले बताए ।
उल्टै प्रहरीकै पैसा फुत्काएर ‘दुर्व्यसनी’ फरार !
जिल्लामा लागूऔष प्रयोग भइरहेको जानकारी पाएको प्रहरीले ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिने प्रयास गरेको भए पनि असफल भएको छ । प्रयोगकर्ताको रूप धारण गरी सादा पोशाकमा लागुऔषध खरिद गर्न पुगेका प्रहरीलाई नै १० हजार ५ सय रुपैयाँ ठगेर लागूऔषध ओसारपसारमा संलग्न एक व्यक्ति बेपत्ता भएका छन् ।
‘लागूऔषध खरिदका लागि’ पर्वतको मालढुङ्गामा पुगेका प्रहरीसँग रकम फुत्काएर ‘लागूऔषध ल्याइदिन्छु’ भन्दै हिँडेका कुमार भनिने एक व्यक्ति फरार भएको जानकारी प्रहरी उपरीक्षक शर्माले दिए । ‘पहिले नै पैसा लिएर मात्र लागूऔषध ल्याइदिने उनीहरूको सिस्टम हुँदोरहेछ, सोहीअनुसार हामीले रंगेहात पक्राउ गर्ने प्रयास गर्याैं,’ उनले भने– ‘तर बिक्री गर्ने व्यक्ति त उल्टै हाम्रै पैसा लिएर पो फरार भयो ।’ उक्त व्यक्ति जिल्ला र आसपासका क्षेत्रमा नरहेको र खोजी भइरहेको शर्माले बताएको खबर राससले प्रेषित गरेको छ ।