आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर– १४, प्रणामीनगर, झापाका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मंगलबार साँझ ६ बजे उक्त घटना भएको थियो । चरनमा पगाहा लगाइएको बिऊ गोरुलाई घरतर्फ ल्याउँदै गर्दा हडियाखोलाको किनारमा श्रेष्ठलाई गोरुले आक्रमण गरेको थियो ।
एकान्त स्थानमा गोरुले आक्रमण गरेका कारण तत्काल कसैले थाहा नपाउँदा घटनास्थलमै श्रेष्ठको मृत्यु भएको थियो । अबेरसम्म छोरो घर नफर्किएपछि खोज्दै जाँदा मृतकका बुबाले मृत्यु भइसकेको अवस्थामा श्रेष्ठलाई फेला पारेका थिए ।
मृत छोरालाई देखेपछि उनले तत्काल गाउँले र प्रहरीलाई खबर गरेपछि घटनास्थलमा प्रहरीसहित स्थानीयवासी पुगेका थिए । मृतकको शव परीक्षणका लागि राति नै भद्रपुरस्थित मेची अञ्चल अस्पताल लगिएको खबर राससले प्रेषित गरेको छ ।