
‘अनैतिक क्रियाकलाप’ गरिरहेको २८ व्यक्तिलाई नेपाल प्रहरीले गोङ्गबुस्थित नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोङ्गबुस्थित नयाँ बसपार्क क्षेत्रका विभिन्न खाजाघर तथा रेस्टुरेन्टमा अनैतिक क्रियायाकलाप गरिरहेको अवस्थामा बिहीबार साँझ १५ पुरुष र १३ महिलालाई पक्राउ गरेको हो । गोङ्गबुस्थित नयाँ बसपार्कमा दिउँसै अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासोका आधारमा छापा मारिएको जानकारी महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले दिएका छन् ।
छापा मार्ने क्रममा गोङ्गबुस्थित ‘बिजी मल’ नजिक सञ्चालन भएको ‘पूजा रेस्टुरेन्ट’ मा अनैतिक क्रियाकलाप हुने गरेको भन्दै सोही रेस्टुरेन्टका सञ्चालक सौगात क्षेत्रीलाई सोधपुछ गर्न खोज्दा क्षेत्रीले ‘जाँच नगर्नू’ भनी प्रहरीलाई १८ हजार रूपैयाँ दिन खोजेका थिए । तर, प्रहरीले उनैलाई नियन्त्रणमा लिएको छ ।
‘अनैतिक क्रियाकलाप’ हुने क्षेत्रलाई लक्षित गरेर पछिल्लो समय नेपाल प्रहरीले विशेष ‘अपरेसन’ सञ्चालन गरेको छ । गत साता मात्र पनि सादा पोशाकका प्रहरी खटाएर अनैतिक क्रियाकलापमा संलग्न १ सय २५ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिएको खबर राससले प्रेषित गरेको छ ।