पूर्व–पश्चिम राजमार्गकोे हेटौंडा– ३, बसामाडीमा दुई वटा बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
शनिबार काठमाडौँबाट जनकपुर जाँदै गरेको ना ७ ख ९३६ नम्बरको यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाडौं आउँदै गरेको ना ७ ख २०५७ नम्बरको अर्को यात्रुबाहक बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा काठमाडौं आउँदै गरेको बसका चालक उदयपुर वरही गाउँपालिकाका ४० वर्षीय मानबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आफ्नै साइडबाट गइरहेको बसलाई विपरीत दिशाबाट उछिन्ने गरी आएको अर्को बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए । दुर्घटनामा सख्त घाइते मगरको उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो ।
अर्को बसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइते तीन जनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य घाइतेको हेटौंडामै उपचार भइरहेको छ । सामान्य घाइतेहरु प्राथमिक उपचारपछि घर फर्किएको खबर राससले प्रेषित गरेको छ ।