म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित एक खाजा पसलमा ससको बोतलभित्र अखाद्य वस्तु भेटिएको छ । सिल नतोडेको ससको बोतलभित्र आइतबार सुर्तीको खोल भेटिएको हो ।
खाजा खान गएका ग्राहकलाई पसल सञ्चालकले सस निकाल्ने क्रममा सुर्तीको खोलको टुक्रा भेटिएको हो । अखाद्य वस्तु भेटिएपछि ससको बोतल बरामद गरिएको गाउँपालिकाका नायब सुब्बा दयाराम पौडेलले जानकारी दिए ।
तिरुपती फुड्स एण्ड वेभरेजले २०१८ नोभेम्बर २६ मा उत्पादन गरेको उक्त ससको बोतलमा उपभोग्य समयअवधि उल्लेख भएको देखिँदैन । सात सय मिलिलिटरको बोतलभित्र ससमाथि तैरिएको अवस्थामा सुर्तीको खोल प्रष्टसँग देखिएको छ । म्याग्दीका ग्रामीण बजार क्षेत्रमा म्याद नाघेका र अखाद्य वस्तुको बिक्री हुने गरेको गुनासो बढेको छ ।
सदरमुकाममा केन्द्रित रहँदै आएको बजार अनुगमनलाई विभिन्न कार्यालयको संयोजनमा स्थानीय तहसँग समन्वय गरेर ग्रामीण बजारमा गरिने प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताएको खबर राससले प्रेषित गरेको छ ।