काठमाडौंका विभिन्न स्थानमा अवैधानिक रुपले पार्किङ गरेका ९ हजार ७ सय २५ वटा मोटरसाइकल तथा स्कुटरलाई नगर प्रहरीले कारबाही गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा नगर प्रहरीले पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, बानेश्वर, कोटेश्वर, कलङ्कीलगायतका फुटपाथ क्षेत्रमा अवैध रुपमा पार्किङ गरिएका मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो ।
‘नो पार्किङ’ क्षेत्र र फुटपाथमा पार्किङ गरिएको मोटरसाइकल तथा स्कुटरलाई नगरपालिकाको गाडीमा बग्गीखाना ल्याएर कारबाही गर्ने गरेको नगर प्रहरी महाशाखा बग्गीखानाका प्रहरी नायब निरीक्षक श्यामप्रसाद तिमल्सेनाले बताए । ‘दैनिक ५० देखि ८० वटा मोटरसाइकल तथा स्कुटरलाई कारबाही गर्दै आएका छौं’– उनले भने ।
यसरी पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई कागजपत्र हेरेर नगर प्रहरीले एक हजार रुपैयाँ जरिवाना गर्दै आएको छ । यसरी कारबाही गरेर नै नगर प्रहरीले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ९७ लाख २५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जथाभावी पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणका लागि नगर प्रहरीले १५ जना प्रहरी खटाएको छ भने उनीहरुलाई ट्राफिक प्रहरीले सहयोग गर्दै आएको छ ।
मोटरसाइकल तथा स्कुटरलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले समेत मादक पदार्थ सेवन (मापसे) कारबाही, लेन अनुशासन कारबाही, हर्न कारबाही, सीसी क्यामरा कारबाही, हेल्मेट नलगाउनेलाई कारबाही आदिजस्ता अनेकौं कारबाही गर्दै आएको छ । कारबाहीसँगै उपत्यकाको सवारी दुर्घटनामा कमी आउने दावी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले गरे ।
‘सवारी साधनका लागि सडक भएजस्तै सर्वसाधारण पैदल यात्रुका लागि फुटपाथ भएकाले फुटपाथमा र सडकमै जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारबाही गरेका हौं’– उनले भने । यातायात व्यवस्था विभागका अनुसार २०७५ फागुनसम्ममा काठमाडौं उपत्यकामा ९ लाख २१ हजार ९ सय १७ वटा मोटरसाइकल तथा स्कुटर सञ्चालनमा रहेको खबर राससले प्रेषित गरेको छ ।